लोडसेडिङ नभएपछि आर्थिक क्षेत्रमा देखिएका ५ परिणाम !


पी.टी. लोप्चन/उज्यालो ।

काठमाडौं, मंसिर २४ – काठमाडाैं उपत्यका र केही शहर लोडसेडिङमुक्त भएको दुई महिना हुनै लागेको छ । लोडसेडिङ अन्त्य हुँदा उद्योगी व्यवसायीले पनि राहत महसुस गरेका छन् । चौबीसै घण्टा विद्युत आपूर्ति हुने हो भने आर्थिक क्षेत्रमा समेत सकारात्मक नतिजा आउने संकेत देखिन थालेको छ । 

परिणाम नं. १ औद्योगिक वस्तुको मूल्य सस्तो 

कुनै औद्योगिक वस्तु बिजुलीबाट उत्पादन गर्दा १० रुपैयाँ पर्छ भने त्यही वस्तु डिजेल जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा ५० रुपैयाँसम्म पर्छ, अर्थात पाँच गुणासम्म बढी लागत पर्छ । युनाईटेड प्लाष्टिक इन्डस्ट्रिज प्रालिका सादब आलम भन्नुहुन्छ ‘उत्पादन लागत नै बढी परेपछि बढी मूल्यमा बेच्नुपर्छ ।
अहिले जस्तो चौबीसै घण्टा विजुली आउने हो भने ५ गुणा कम नभएपनि केही सस्तो त अवश्य पर्न जान्छ । त्यो हामी जस्तो उद्योगी तथा व्यवसायीका लागि मात्र नभई उपभोक्ताका लागि पनि खुसीको कुरा हो ।’ 

परिणाम नं. २ स्वदेशी उद्योग फस्टाउने

डिजेल जेनेरेटरबाट उत्पादित वस्तुको मूल्य महँगो पर्छ । महँगो उत्पादनले विदेशबाट आयातित समान वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन । मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योगहरु बन्द स्वतः बन्द हुन्छन् । नेपालका धेरैजसो उद्योग यसैगरी बन्द भएका उद्योगीहरु बताउँछन् । नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव सुभेन्द्र जोशी भन्नुहुन्छ ‘सरकारले पनि स्वदेशी वस्तु प्रवद्र्धनका लागि खासै कार्यक्रम नल्याएकाले स्वदेशी उद्योगहरु बन्द हुने क्रममा छन् ।
मुश्किलले चलेका उद्योगले समेत खासै मुनाफा आर्जन गर्न नसकिरहेको अवस्थामा विद्युत आपूर्ति बढ्न थालेपछि हामी उद्योगी व्यवसायी हौसिएका छौं, यसले स्वदेशी उद्योगहरु बन्द हुने रोगको निदान हुने अपेक्षा गरेका छौं ।’ 

परिणाम नं. ३ वैदेशिक व्यापार सन्तुलन 

उर्जा मन्त्रालयले केही दिनअघि गरेको उर्जा खपत तथा व्यवस्थापन विषयक छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले काठमाडौंमा लोडसेडिङको अन्त्य भएपछि १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङक सुनाउनुभएको थियो । तर भन्सार विभागको तथ्यांक हेर्दा अहिले नै पेट्रोलियम पदार्थको आयातमा कमी आईसकेको देखिदैन ।
विभागको तथ्याङ्कमा असोजमा ७६ हजार ६ सय ४६ किलोलिटर अर्थात ३ अर्ब ५५ करोड रुपैयाँको डिजेल आयात भएकोमा कात्तिकमा बढेर ९१ हजार ९३ किलोलिटर (३ अर्ब ४९ करोड रुपैयाँ ) डिजेल आयात भएको उल्लेख छ । मंसिरको १८ गतेसम्म ७१ हजार ३ सय ५६ किलोलिटर अर्थात १ अर्ब ५६ करोड रुपैयाँको डिजेल आयात भईसकेको छ । यही दरमा आयात हुँदा मंसिरमा कात्तिकमा भन्दा अझ बढ्ने विभागका निर्देशक कुलराज ज्ञवालीले बताउनुभयो ।
डिजेल आयातमा तत्काल कमी आएको नदेखिएपनि औद्योगिक क्षेत्रमा विद्युत कटौती नहुने हो भने जेनेरेटर, इन्भर्टर लगायत वस्तुको आयात घट्ने र यसले बैदेशिक व्यापार सन्तुलनमा समेत मद्दत पुग्ने विभागका निर्देशक ज्ञवालीले बताउनुभयो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र वैदेशिक व्यापार घाटा एक खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । 

परिणाम नं.४ वैदेशिक विनिमय सञ्चिती बढ्ने 

नेपाले बार्षिक झण्डै डेढ खर्ब रुपैंया बराबरको पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । पेट्रोलियम पदार्थको आयातमै धेरै विदेशी मुद्रा बाहिरिने भएकाले यसले बैदेशिक विनिमय सञ्चितीमा समेत टेवा पुग्ने अर्थशास्त्रीहरु बताउँछन् । २०७२ असार मसान्तसम्म १० खर्ब ३९ अर्ब २१ करोड रहेको विदेशी विनिमय सञ्चिती शून्य दशमलव छ प्रतिशतले घटेर अहिले १० खर्ब ३२ अर्ब ७० करोडमा झरेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । 

परिणाम नं.५ आयोजनाहरु समयमै सम्पन्न हुने 

साना ठूला आयोजनाहरु समयमै सम्पन्न नहुनुका धेरै कारणहरुमध्ये एउटा उर्जा संकट पनि हो । उर्जा संकटका कारण विद्युतीय उपकरणहरु यथेष्ट मात्रामा चलाउन नपाउँदा आयोजना सम्पन्न हुन वर्षौं लाग्ने गथ्र्यो । यसबाट लाभ पाउन धेरै वर्ष लाग्थ्यो ।
लोडसेडिङ नहुने हो भने त्यस्ता आयोजना निर्माणका लागि आवश्यक उपकरणहरु पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने समयमै सम्पन्न हुने निर्माण व्यवासायीहरु बताउँछन् । यसले राष्ट्रको विकासमा ठूलो योगदान पुग्ने निश्चित छ ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment