कमिसन नबढाए ग्यास बिक्री ठप्प पार्ने व्यवसायीको चेतावनी !


काठमाडौः काठमाडौं ग्यास बिक्रेता महासंघले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै ग्यास बिक्री ठप्प पार्ने चेतावनी दिएको छ। महासंघले ग्यास बिक्री गर्ने प्रक्रियामा देखिएका समस्याबारे पटक–पटक सरकारलाई ध्यानाकर्षण गराइए पनि हालसम्म समाधान नभएको भन्दै ग्यास बिक्री रोक्ने चेतावनी दिएको हो।
महासंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको गरी आफ्ना सात बुँदे माग अघि सारेको छ। महासंघका महासचिव चन्द्र थापाले पछिल्लो चार वर्षदेखि उठाउँदै आएको माग हालसम्म सरकारले सम्बोधन गर्न चासो नदेखाएकाले पुनःमाग राखेर आन्दोलनमा जाने तयारी भएको जानकारी दिए ।
‘आगामी पुस २९ गते घोराहीमा सम्पन्न हुने महासंघको चौथो साधारण सभासम्म हाम्रो माग सम्बोधन नभए ग्यास उद्योगमा तालबन्दी गरी नेपाल आयल निगम र उद्योगमा धर्ना दिन बाध्य हुनेछौं,’ महासचिव थापाले भने, ‘यो कार्यक्रमपछि पनि सरकारले चासो नदेखाए देशभरका सम्पूर्ण डिलरको पसलको तालाचावी संकलन गरी सरकारलाई बुझाउछौं ।’
आन्दोलनको क्रममा हुने ग्यास आपूर्ति ठप्पको जिम्मेवारी सरकारले लिनुपर्ने महासंघले जनाएको छ। महासंघले डिलर प्रमाणीकरण प्रक्रियालाई तत्कालै द्रुतगति र अनिवार्य रूपमा अघि बढाउनुपर्ने माग अघि सारेको छ । यसैगरी डिलर र डिलरमा काम गर्ने कामदारको तत्कालै बिमाको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ ।
सरकारले हालसम्म डिलर र डिलरमा काम गर्ने कामदारको हकमा बिमाको व्यवस्था गरेको छैन । देशभर करिब १४ हजारको संख्यामा ग्यासको वितरण गर्ने डिलर र सिलिन्डर पसलमा कामदार कार्यरत छन् । यस्तै अति आवश्यक वस्तुका रूपमा रहेको ग्यास आपूर्तिमा लगाइएको कर(भ्याट) तत्कालै फिर्ता गर्नुपर्ने महासंघले माग गरेको छ । ‘ग्यास अति आवश्यक वस्तुभित्र पर्ने भएकाले त्यसमा कर लगाउन पाइदैंन’, महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने, ‘कर फिर्ता भयो भने आम उपभोक्ताले अझै सस्तो मूल्यमा एलपीजी ग्यासको उपभोग गर्न पाउनेछन् ।’
महासंघले सिलिन्डर बिक्री गरेबापत डिलरले प्राप्त गर्ने कमिसन निकै कम भएकाले वृद्धि भइरहेको महँगीको अध्ययन गरी कमिसनको रकम पाँच प्रतिशतले वृद्धि गर्नु पर्ने मागसमेत अघि सारेको छ । हाल एउटा सिलिन्डर बिक्री गरेबापत डिलरले ३२ रुपैयाँ कमिसन बापत प्राप्त गर्दैआएका छन् ।
Share on Google Plus

About Nepali Google Boy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment